25 September 2013

प्रेस विज्ञप्ति

२०७०।०६।०४
प्रेस विज्ञप्ति

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गर्दा महिलालाई यथोचित स्थान नदिएकोमा “शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला संजाल – संकल्प” विरोध गर्दछ । निर्वाचन आयोगले संविधानसभा निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी २४० क्षेत्रमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत समेत नियुक्त गरिसकेको छ । तर, अघिल्लो सविधानसभाको चुनावमा जस्तै यो संविधानसभाको चुनावमा पनि २४० निर्वाचन अधिकृतमा दुई मात्र महिला नियुक्त गरिएकोमा “संकल्प” घोर आपत्ति व्यक्त गर्दछ ।
संकल्पका कार्यकारी निर्देशक चन्दादेवी श्रेष्ठ राई भन्नुहुन्छ “राज्यको हरेक निकाय तथा तहमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनु पर्ने व्यवस्था गरे तापनि यो केवल दस्तावेजमा सीमित रहेको कुरा निर्वाचन अधिकृत नियुक्तिको यो घटनाले पनि प्रष्ट पारेको छ” । निर्वाचन अधिकृत हुनका लागि कानुन विषयमा जानकार उपसचिव स्तरको सरकारी कर्मचारी हुनुपर्ने प्रवधान रहेको र अहिले नेपालमा पाँच जना त्यस्ता महिला उपसचिव भए तापनि दुई जनालाई मात्र निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
निर्वाचन आयोगका उपसचिव महेश्वर न्यौपानेका अनुसार निर्वाचन अयोगले ४,७२१ जना निर्वाचन शिक्षा कार्यकर्ता नियुक्त गरेकोमा ५० प्रतिशत महिला नियुक्त गरे तापनि करिब १८,४०० मतदान केन्द्रमा मतदान अधिकृत नियुक्त गर्दा भने ३३ प्रतिशत पु¥याउन नसकिने बताउनुभएको छ । सरकारी कर्मचारीमा नै ३३ प्रतिशत महिला अधिकृत नरहेको र शिक्षा क्षेत्रमा पनि ३३ प्रतिशत महिला नभएकोले निर्वाचन आयोगले केही गर्न नसक्ने जानकारी उहाँले संकल्प रेडियो कार्यक्रमका लागि गरिएको कुराकानीमा दिनुभएको छ ।
“सकल्प” निर्वाचन आयोग समक्ष अहिले भएका पाँच जना कानुन विषयमा जानकार महिला उपसचिव स्तरको सरकारी कर्मचारीहरु सबैलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिन माग गर्दछ ।

No comments:

Post a Comment